सप्तरी,माघ २६ गते । सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ भएर बग्ने कोरिया खोलामा मधेश प्रदेश सरकारको चुरे संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत चार वटा स्पर निर्माण गरिएको छ ।
मधेश प्रदेश सरकारको १० लाख र स्थानीयको एक लाख १७ हजारको जनश्रमदान खर्चमा निर्माण भएको स्परले झोलुंगे पुललाई मात्र नभई खेती योग्य जग्गासँगै वस्तिलाई समेत कटान हुनबाट जोगाएको छ ।
कोरिया खोला आसपास झण्डै २७ घर परिवारहरु बसिरहेका छन् । सुख्खा मौसममा जसोतसो रात गुजारे पनि वर्षात्को बेला गाउँमा पानी पस्ला भन्ने त्रासले रात गुजार्नुपर्ने वाध्यता उनीहरुको छ । यसपल्ट मधेश प्रदेश सरकारको सहयोगमा बनेको स्परबाट केही हदसम्म गाउँमा पानी पस्नबाट जोगाएको स्थानीय खड्गबहादुर आले मगरले जनाउनुभयो ।

बजेटको सीमतता भए पनि सालै पिच्छे बाढीको वहावलाई गाउँतर्फ सोझिन नदिन भू तथा जलाधार व्यवस्थापन कार्यालय लहानबाट उक्त खोलामा केही न केही काम भइनै रहेको छ यद्यपि यसले गाउँलेको समस्या निराकरण गर्न नसकिएको स्थानीय मीनादेवी आले मगरको आरोप छ ।
दिन प्रदि दिन खोलाले आफ्नो आकारलाई बढाउँदै लगेको छ । खोलाको आकार बढेसँगै स्थानीयको विहान बेलुकाको जोहो गर्ने खेती योग्य जग्गालाई समेत कटान गर्दैछ । त्यसैले स्थानीयको जनधनको क्षतिलाई रोक्ने गरी नदी नियन्त्रण सम्बन्धी काम गरिदिन मधेश प्रदेश सरकारलाई स्थानीयले आग्रह गरेको छ ।




















