सिरहा,माघ १५ गते ।सिमसार क्षेत्र संरक्षणसँगै आन्तरिक तथा वाह्य टुरिज्मलाई बढाउने उद्देश्यले सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाले महेशवारी टुरिज्म एण्ड सिमसार पार्क निर्माण गर्न लागेको छ ।
स्थानीय गाउँपालिकाको मातहतमा रहेको करिव १४ कठ्ठा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न पार्कको विभिन्न संरचना निर्माण लागेको हो ।

राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड ९ लाख ६० हजारको लगानीमा निर्माण हुन लागेको उक्त पार्कमा चारैतर्फ शेयर वाल, पार्कको विच भागमा आकर्षक स्टाचु, एलेक्ट्रिक बोट, आरामदायी कुर्सी, कार्यालय तथा टिकट घर लगायतका संरचना निर्माण गरिने गाउँपालिकाका ईन्जिनियर राधेश्याम यादवले वताउनुभयो ।
यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ । यसले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले वताउनुभयो ।

विशुद्ध ग्रामीण क्षेत्र भएकोले यस वरपर पार्क निर्माण अभावमा यस भेगसँगै छिमेकी देश भारतका आगन्तुकहरु पार्कको स्वाद लिन दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहँदै आएको छ । निर्माण कार्यको जिम्मा एम.एस.वल्र्ड वाइज अजय जे.भी. समाखुशी काठमाडौंले लिएका छन् ।





















