सिरहा,माघ १४ गत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख गोपाल प्रसाद अधिकारीले सरकारले प्रदत्त गरेको कानुनको परिधिभित्र रही विकास निर्माणका कामकाज गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तह स्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अधिकारीले कानुन बमोजिम ढुक्क भएर काम गर्न आग्रह गर्दै कानुन विपरित रहेर काम गर्ने जोसुकैलाई कार्वाही गर्न आयोग पछाडि नपर्ने चेतावनी समेत दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको कार्यक्षेत्र रहेको ९ वटा जिल्ला सिरहा, धनुषा, सर्लाही, महोत्तरी, खोटांग, ओखलढुंगा, सोलुखुम्बु र रामेछाप मध्ये सबैभन्दा उजुरी सिरहा जिल्लामा पर्ने गरेको आयोगले जनाएको छ ।
हालसम्म संघतर्फ २७१, प्रदेश तर्फ १२६ र स्थानीय तह ११५२ गरी कुल १५४९ २०७९ पौषसम्म दर्ता भएको छ जसमध्ये ५४१ वटा फरछ्यौट भएको छ भने १००८ वटा फरछ्यौट गर्न बाँकी रहेको जनाएको छ ।

सिरहा जिल्लाको उजुरीको चांग लाग्न थालेपछि आयोगको प्रभावकारिता बढाउने उद्देश्यले स्थानीय पालिकामा गएर अन्तक्र्रिया गर्ने गरिएको आयोगका प्रमुख अधिकारीले वताउनुभयो । सिरहा जिल्लाको १७ स्थानीय तहमा मात्रै २५१ वटा उजुरी परेको छ । हालसम्म ५६ वटाको मात्रै फरछ्यौट भएको छ अन्य उजुरीको अध्ययन भइरहेको आयोगले जनाएको छ ।
आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले अख्तियारसँग आ आफ्ना जिज्ञासाहरु राखेका थिए ।





















