अनुभक्त चौधरी
सिरहा,माघ ४ गते । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ बल्टियामा सिंचाईको लागि करिव एक करोडको लागतमा साढे तीन किलोमिटर पक्की लाईनिंग (पैनी) निर्माण भएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गत भौतिक मन्त्रालयको आर्थिक वर्ष २०७८।०७९ को बजेटबाट सिरहास्थित सिंचाई विकास डिभिजन कार्यालय मार्फत् कमला उत्तराहनी क्यानलमा उक्त पक्की लाईनिंग निर्माण भएको हो । पक्की लाईनिंग निर्माणले कर्जन्हा नगरपालिका वडा नं. १ देखि ३ वडासम्मका करिव तीन सय विघा खेती योग्य जग्गा सिंचित भएको स्थानीय रामेश्वर धामी बताउँछन् ।

अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका त्यस भेगका कृषकलाई पक्की लाईनिंग निर्माणले समयमा खेतीपाती गर्न सहज मात्र भएको छैन बल्ल तल्ल एक बाली लगाउन पाएका उनीहरुले अहिले सोही खेतबाट तीन बालीसम्म लगाउन पाएका छन् ।
बाह्रैमास कमला उत्तरवाहिनी नदीबाट पानी बगिरहेको हुन्छ । सिंचाई विकास डिभिजनमार्फत् बनेका लाईनिंगले किसानहरुको सिचाईको माग केही हदसम्म पूरा गरिए पनि तल्लो तटीय क्षेत्रमा सिंचाई सेवा अझै पुगेको छैन । कृषकहरुको सिंचाईका लागि बाँकी रहेका स्थानहरुमा मधेश प्रदेश सरकारले यी यस्ता संरचनाहरु निर्माण गरिदिंदा सिंचाईको समस्या न्यूनीकरण हुन सक्ने आकलन स्थानीय कृषकहरुले आग्रह गरेका छन् ।






















