काठमाडौं, पुस २७ गते । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताउनुभएको छ ।
माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ”, उहाँले भन्नुभयो, “सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।”
सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उहाँले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताउनुभयो । “जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।”
अध्यक्ष प्रचण्डले जनताको घरघरमा पार्टीलाई विस्तार गर्न र पार्टी सुदृढीकरणको अभियानलाई व्यापक बनाउन आग्रह गर्नुभयो । पार्टीमा युवाको सहभागिता बढाउन २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाउँदै उहाँले पार्टी निर्माणमा लाग्न युवालाई निर्देशन दिनुभयो ।
राजधानीमा मङ्गलबारदेखि सुरु तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिनुभएको थियो । वाइसिएलले ‘जनताको घरदैलोमा वाइसिएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।




















