काठमाण्डौ,पुस १६ गते । ५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन् ।

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ संस्थाको सहभागितामा उद्घाटन हुने उनले बताए । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।।अलाईन खवर बाट