सिरहा,मंसिर २९ गते । सिरहासहित  तराईका जिल्लामा आजबाट चिसो बढेको छ। आज विहानबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। 

केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा बुधबारबाट भने मधुरो घाम लागेर स्याँठ चलेकाले चिसो बढेको महसुस भएको स्थानीयले बताएका छन्। 

चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन्। तराईका जिल्लाहरूमा बर्सेनि पुस, माघको जाडोले आय आर्जन न्यून भएका अति विपन्न र दलित परिवार प्रभावित हुने गरेका छन्। चिसो छल्न तराई मधेशका जिल्लामा घुर आगो बालेर ताप्ने गरिन्छ। 

यस्तै चिसोले कठ्याङग्रिएर पनि धेरैको मृत्यु हुने गरेको छ। चिकित्सकहरूले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूको विशेष ख्याल गर्न आग्रह गरेका छन्। 

जाडो याममा चिसोजन्य सङ्क्रमण बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउनुपर्ने र ताजा तथा ताता खानेकुरा बढी खानुपर्ने बरिष्ठ फिजिसियन डा. शशि मण्डलले बताउनुभयो। विभिन्न खाले दीर्घ रोग भएकाहरू यो चिसोमा अझ सजग हुनुपर्ने डा। झाले बताउनुभयो। यो समयमा धुलोको पनि सङ्क्रमण रहने भएकाले ख्याल गर्न चिकित्सकहरूको सुझाव छ।