सिरहा,मंसिर २७ गते । उन्नत घाँसका विउहरुको मागलाई परिपूर्ति गर्ने उद्देश्यले सर्लाहीको रंजितपुरस्थित घाँसवाली आनुवांशिक श्रोत केन्द्रले यसपल्ट सयौं क्वीन्टल घाँसका मुल विउ तथा मलखाद निःशुल्क रुपमा कृषकहरुलाई वितरण गरेको छ ।
यस वर्ष वितरित मुल घाँस अन्तर्गत एक सय २० क्वीन्टल जैं, एक सय वीस क्वीन्टल टी ओ सेन्टी, ३ सय के.जी स्टाइलो, २ लाखनेपियर सेट (टुक्रा)। भेज, ज्वाइन्ट भेज, कुडजु लगायत रहेको कार्यालयले जनाइएको छ ।
१, २, ३ र ४ प्रदेशका ४६ जिल्लाको कृषकहरुलाई वितरित उन्नत घाँसका विउ तथा मलखादले मुल विऊहरु उत्पादनमा बृद्धि भई विभिन्न जिल्लाका कृषकहरुलाई मागलाई परिपूर्ति गर्ने उद्देश्य रहेको घाँसवाली आनुवांशिक श्रोत केन्द्रका प्रमुख सुमिन्द्र यादवले वताउनुभयो । 
२७.५ हेक्टर (४० विघा) क्षेत्रफलमा फैलिएको श्रोत केन्द्रमा हाल उत्पादित मुल घास विऊ कृषकको मागको २५ प्रतिशत मात्र पूरा गरिरहेको जनाइएको छ । घाँसका विउको माग अत्यधिक भएकाले कार्यालयले केही दिनदेखि कृषि फर्महरुको साझेदारीमा घाँस खेती गर्न थालिएको छ । कृषि फर्महरुको साझेदारीमा उत्पादित विउले कृषकहरुको मागलाई परिपूर्ति गर्ने लक्ष्य समेत कार्यालयले लिएको छ ।
पछिल्लो केही वर्षदेखि पशुपालनतर्फ कृषकहरुको ध्यान अत्यधिक रुपले बढ्न थालेपछि सोही अनुसारको घाँसको माग समेत अत्यधिक रुपमा बढेको जनाइएको छ ।






















