विराटनगर,मंसिर २६ गते । विराटनगरको रानी नाकास्थित तस्कर र भन्सार कर्मचारीबीच झडप भएको छ । इलाका प्रहरी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छलेर ल्याएको अवैध कपडा विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिदा झडप भएको हो।

कर्मचारीहरूले एउटा भ्यानमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरू आक्रमणमा उत्रिए ।

स्थानीय महिला तथा बालबालिकासहित आएका तस्कर समूहले कर्मचारीहरूलाई लछारपछार गर्दै सवारी, कपडा र नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाएर लगेको भन्सार कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बसेको उक्त फुटेजमा देखिन्छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरी कार्यालय अगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी रानी सीमा अगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो पोखे ।

‘प्रहरीकै अगाडि तस्करी भइरहेको अवस्थामा नेपाल प्रहरी कार्यालयभित्र पस्ने र सशस्त्र प्रहरी मूकदर्शक बसेपछि तस्करको कुटाइ खान बाध्य भयौं ।’ यो घटनाले तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको असहयोग उजागर भएको ढुंगानाले बताउनु भयो ।

यसअघि पनि भन्सार कर्मचारीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको दुई मिनी ट्रक र दुई ट्र्याक्टर कात्तिक २७ को राति सुनसरी र मोरङ सीमाबाट नियन्त्रणमा लिएका थिए । पछि सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा मैदा ल्याएर प्याकिङ गर्ने र बजार पठाउने गरेको रहस्य खुलेको थियो ।

विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले १५ लाख मूल्यका ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको थियो । डब्लूबी ०२ भी २३४० भारतीय नम्बरको कार, को १ ख ३१४५ र को १ ख २३७६ नम्बरको मिनी ट्रक र को २ त १३०३ र मे १ त ७०५५ नम्बरको ट्र्याक्टरमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मैदासहित नियन्त्रणमा लिइएको थियो ।

प्रदेश १ स्थित भारतीय सीमा क्षेत्रमा ५ देखि ७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका साथै नेपाल प्रहरीको समेत इकाइ रहेकाले पैदल गस्ती गरेरै चोरी नियन्त्रण गर्न सक्ने अवस्था रहेको एक सुरक्षा अधिकारीले बताए । सुरक्षाकर्मीले छुट नदिएसम्म यस प्रदेशमा कुनै किसिमको चोरी तस्करी सम्भव नभएको उनको बुझाइ छ ।

उक्त भन्सार कार्यालयले राजस्व चुहावट समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई लिखित पत्राचार गरेरै उक्त घटनाका बारेमा शनिबार जानकारी गराइसकेको छ । भन्सारको पत्रका आधारमा प्रजिअ दाहालले सम्बद्ध समितिको बैठक बोलाई एकअर्कामाथि आरोपप्रत्यारोप गर्नेभन्दा पनि माथि उठेर सबै सरोकारवाला निकायलाई एकजुट भएर संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाले उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न लिखित निर्देशन दिएको बताए ।