धनुषा,मंसिर २६ गते । धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं.५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो । उनकै श्रीमानले हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । रिताको उपचारको क्रममा मृत्यु भएको छ ।
घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको छ । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जनाउनु भयो । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि श्रीमान विरेन्द्रले सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार गरेको थियो ।
उनका चार र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।




















