काठमाण्डौ,मंसिर १८ गते । नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विस्फोटक पदार्थ चाहिं नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए ।

सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ ।

‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बास्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि विस्फोट भएको थियो ।अनलाईन खवरबाट