सप्तरी,मंसिर १६ गते । नेकपा एमालेका नेता एवम् सप्तरी १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने नेकपा एमाले पार्टीले आन्तरिक तयारी शुरु गरेको छ । मधेश प्रदेशको ठूलो दलको हैसियतले एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहईन्चार्ज लेखीको नेतृत्वमा एमालेले सरकार गठनको तयारी गरेको हो ।

प्रत्येक्षतर्फ १५ सिट जितेका एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक गृहकार्य शुरु गरेको एमाले नेताहरु बताउँछन् । पार्टी केन्द्रिय कार्यालयमा मधेश प्रदेशमा सरकार गठन बारे छलफल भयो, एक नेताले भने, मुख्यमन्त्रीमा लेखीको नाम अग्रपंक्तिमा राखिएको छ । मधेश प्रदेशको समानुपातिक तर्फको प्रदेशसभा सदस्य घोषणा भएलगत्तै लेखीलाई संसदीय दलको नेता बनाउने पार्टी नेतृत्व पंक्तिमा छलफल थालिएको जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली निकट मानिएका लेखीलाई एमालेमा प्रभावशाली नेताको रुपमा चिनिन्छ । नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्ष, एमाले भातृ संगठन लोकतान्त्रिक थारु संघ र आदिवासी जनजाति महासंघका केन्द्रिय संस्थापक नेता, थारु कल्याकारिणीसभाका महामन्त्री लगायतका दर्जनौं राष्ट्रिय संगठनको सफलतापूर्वक नेतृत्व गरिसकेको लेखीलाई एमालेमा असल, क्षमतावान र मुख्यमन्त्री बन्न योग्य व्यक्ति भएको भन्दै उनको नाम चर्चा हुन थालेको छ । राजकुमार लेखीलाई एमालेका लोकप्रिय नेताको रुपमा चिनिन्छ ।

एमालेको दशौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित लेखी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट भारी मतले प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले निकटतम प्रतिद्वन्द्वी भन्दा ५ हजार १ सय ९८ मतान्तरले विजयी हाँसिल गरे । बिभिन्न पहिचान र अधिकारको आन्दोलनको नेतृत्व गरेका लेखीले थारु, आदिवासी जनजाति, दलित, मुश्लिम, मधेशी, महिलालाई राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व र उनीहरुको पहिचान स्थापित गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ बुंदे र बाबुराम भट्टराईलाईसँग ९ बुंदे सम्झौता गरि पहिचान र अधिकार सुनिश्चित गराउन सफल भएका थिए ।

लेखी देशकै चर्चित नेता भएकाले मुख्यमन्त्रीको प्रमुख दावेदार रहेको एमाले नेताहरुको भनाई छ ।न्युज टुडे बाट साभार