सिरहा,मंसिर १५ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिराहामा उम्मेदवार बनेका एक सय ७२ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका ७५ र प्रदेश सभाका ९७ गरी एक सय ७२ उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।

प्रतिनिधिसभातर्फ चारवटा निर्वाचन क्षेत्रका साना दलका २७ र स्वतन्त्र ४८ गरी ७५ तथा प्रदेश सभातर्फ आठ क्षेत्रका साना दलका २९ र ६८ स्वतन्त्र गरी ९७ जनाको धरौटी जफत भएको हो। कुल २१० उम्मेदवारमध्ये ३८ जनाले मात्र आफ्नो धरौटी रकम जोगाएका छन्। प्रतिनिधिसभातर्फ ८७ मध्ये १२ र प्रदेश सभातर्फ एक सय २३ मध्ये २६ उम्मेदवारले धरौटी रकम जोगाएका निर्वाचन कार्यालयले जनाएको छ।

कुन क्षेत्रबाट कतिजनाको जफत ?

प्रतिनिधिसभातर्फ सिराहा १ मा १३ दलीय र १० स्वतन्त्रमध्ये दलतर्फका तीन, क्षेत्र २ मा नौ दलीय र १५ स्वतन्त्रमध्ये दलीय उम्मेदवार तीन, क्षेत्र ३ मा सात दल र १४ स्वतन्त्रमध्ये दलीय तीन र क्षेत्र ४ मा १० दलीय तथा नौ स्वतन्त्रमध्ये तीन दलीय गरी १२ उम्मेदवारको धरौटी रकम जोगिएको छ भने बाँकी ७५ जनाको जफत भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गणपति यादवले जानकारी दिए।

प्रदेश सभातर्फ १ ९क०मा १० दलीय र ६ स्वतन्त्र गरी १६ उम्मेदवारमध्ये दलीय तीन, १ ९ख०मा आठ दलीय र पाँच स्वतन्त्रमध्ये तीन दलीय उम्मेदवारको धरौटी रकम जोगिएको छ। बाँकी २३ जनाको जफत भएको छ। प्रदेश सभा २ ९क०मा दलीय ६ र स्वतन्त्र आठमध्ये दलका तीन, प्रदेश सभा २ ९ख०मा सात दलीय र आठ स्वतन्त्रमध्ये दलीय तीनजनाबाहेक बाँकी २३ जनाको धरौटी रकम जफत भएको छ।

प्रदेश सभा ३ ९क०मा पाँच दलीय र ११ स्वतन्त्र गरी १६ मध्ये १३, ३ ९ख०मा पाँच दलीय र नौ स्वतन्त्र गरी १४ मध्ये नौ तथा ४ ९क०मा सात दलीय र ११ स्वतन्त्र गरी १८ मध्ये १५ तथा ४ ९ख०मा ६ दलीय र ११ स्वतन्त्र गरी १७ मध्ये १४ जनाको धरौटी रकम जफत भएको सूचना अधिकारी यादवले उल्लेख गरे।

जफत हुनेमा पूर्वमन्त्री, पत्रकार र कलाकार पनि

प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेश सभा २ ९क० विशेषतः चर्चामा रह्यो। सिराहाको दक्षिणी सीमावर्ती औरही घर भई लामो समय भारतको मुम्बईमा बसेर कलाकारिता गरिरहेका मुरली मिझार ९मुरलीधर०, पत्रकार, सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक रामरिझन यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य देवकुमार यादवसहित २१ जनाको कुल खसेको सदर मतको १० प्रतिशत मत नआउँदा १० हजार रुपैयाँ धरौटी जफत भएको छ। राप्रपाका उम्मेदरबार रहेका मिझारले सात सय ८२, स्वतन्त्र उम्मेदवार रहेका यादवद्वयले क्रमशः दुई सय ८४ र ३२ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ मा कुल ७१ हजार पाँच सय ६६ मत खसेकोमध्ये ६७ हजार सात सय ६८ मत सदर भएको छ।

०६४ सालको संविधानसभा निर्वाचनमा सिराहा १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भई ०६५ सालमा डा। बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा विनाविभागीयमन्त्रीसमेत रहेका राजलाल यादव यसपटक हाम्रो नेपाली पार्टीबाट उम्मेदवार थिए। उनले कुल सदर ३५ हजार दुई सय ९५ मध्ये दुई सय ३७ मत ल्याएका छन्।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ को निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवारले १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले मनोनयनका वेला पाँच हजार धरौटी राख्नुपर्छ। निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ। नाया पत्रिका बाट साभार