रौतहट, कात्तिक २६ गते । प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले नक्कली नोटका कारोबार गर्ने दुई महिलासहित  छ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरू मौलापुर नगरपालिका–८ सोनरनियाबाट बिहीबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुनिल मल्ल ९प्रहरी नायव उपरीक्षक० ले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोलसमेत बरामद गरिएको छ । 

पक्राउ पर्नेहरूमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–६ का २५ वर्षीय सोनु भन्ने आनन्द कुशवाहा, सोही स्थान बस्ने क्रमशः ४५ वर्षका प्रतिमादेवी कुशवाहा, २२ वर्षकी अमृता कुमारी, १९ वर्षका बृजकिशोर मुखिया, रौतहट मौलापुर–७ का राजाराम साह ९२३ वर्ष० र देवाहीगोनाही नगरपालिका–६ ९रौतहट० का धिरजप्रसाद जैसवाल ९२० वर्ष० रहेका छन् । 

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले ढुङ्गा प्रहार गरेपछि प्रहरीको तर्फबाट दुई राउण्ड हवाई फायर भएको जानकारी दिनुहुँदै प्रहरी प्रवक्ता मल्लले ढुङ्गा प्रहारबाट दुई जना म्यादी प्रहरी छ जना प्रहरी कर्मचारी घाइते भएको बताउनुभयो ।

यसैक्रममा उनीहरूले प्रयोग गरेका २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई खोटा चलन तथा हातहतियार शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको बताइएको छ ।