सिरहा,असोज २५ गते ।पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ एवम् सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनका उम्मेद्वार चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताउनुभयो ।
आज सिरहाको क्षेत्र नं.२ मा चुनावी अगुवा कार्यकर्ताको भेटमा नेतृ यादवले जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन् ।
नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको वताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रदेश सभा (ख) का उम्मेद्वार बनेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले आफूलाई जिताउन आग्रह गर्दै यसअघि प्रदेश सभा सदस्य बन्दाताका भएका गल्ति त्रुटी सच्याउँदै अगामी दिनमा सबैसँग हातेमालो गरी जाने वताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व धनगढीमाई नगर प्रमुख हरिनारायण चौधरीले संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने र नेता कार्यकर्ताहरुले पनि सोही अनुसार परिचालन हुन निर्देशन समेत दिनुभयो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवले संयुक्त गठबन्धनको उम्मेद्वारलाई जिताउनको लागि सबैलाई अपिल समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले प्रतिनिधि सभाको टिकट पाए पनि यो संयुक्त गठबन्धनको उम्मेद्वार भएको बुझ्न आग्रह गर्दै विजयी हासिल गरेपछि गठबन्धन भएर सबै काम अगाडि बढाउने आश्वासन समेत प्रदान गर्नुभयो ।
चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा प्रदेश र प्रतिनिधि सभा गरी १२ पदका लागि दुई सय जनाको उम्मेद्वारी परेका छन् । सिरहामा संयुक्त गठबन्धन तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तथा अर्कातर्फ नेकपा एमाले, जसपाको संयुक्त उम्मेद्वारीसँगै जनमत पार्टी, राप्रपा लगायत स्वतन्त्रहरुको उम्मेद्वारी परेका छन् ।




















