सिरहा,असोज १ गते । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।
सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।
योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्।
जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन ९शनिबार० वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ९आइतबार० वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।
जितियाको अन्तिम तथा पारन ९ समापन०को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।
खर जितियामा नयाँ विवाहिता महिलाहरुले जितियाको सुरुआतसमेत गरेको थारु संस्कृतिविद् भुलाई चौधरीले बताए।
यसअघि २०७६ सालमा खर जितिया परेको थियो ।




















