काठमाडौं, भदौ २२ गते। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । कक्षा १२ को नतिजा आएपछि एनओसीका लागि औषतमा दैनिक सात सय आवेदन आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार दुई हजार भन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको जनाएको छ ।
शुक्रबार ३२३, आइतबार ५७६, सोमबार ६२५, मंगलबार ५७९ गरी दुई हजार १०३ एनओसी जारी भएको शाखाले जनाएको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको उल्लेख गर्नु भयो ।
कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घन्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् ।
विद्यार्थीहरुले सबैभन्दा बढी जापान त्यसपछि अस्ट्रेलिया, युके, अमेरिका, कोरियालगायत १०४ देशका लागि एनओसी लिइरहेको शाखाले जनाएको छ।
६ महिनाभित्र सबै प्रक्रिया अनलाइन सिस्टमै बनाउने
अहिले आवेदन लिने तथा फेरिफिकेसन गर्ने काम अनलाइन हुन्छ तर एनओसी लिनको लागि भौतिक उपस्थित हुनुपर्ने अवस्था छ । शाखाले अब पेपरलेस तथा फेसलेस प्रक्रिया मार्फत एनओसी बनाउने तयारी गरिरहेको शाखा प्रमुख वासुदेव वस्तीलेवस्तीले उल्लेख गर्नु भयो ।
उनले भने ‘प्राविधिक समस्या भएन भने अबको ६ महिनामा सबै अनलाइनमार्फत काम हुन्छ । हामी पेपरलेस, फेसलेस बनाउने तयारीमा छौं ।’




















