सिरहा,भदौ २२ गते । नेपाल सरकारले आफै सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ ।

 ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा समेत ईन्सोरेन्स अनिवार्य रहेको तर भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हुँदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ । गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ । नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल रेल्वे कम्पनीमा कार्यरत रहेका रविन्द्र साहले पनि दुबै रेल बिना इन्स्योरेन्स संचालन भइरहेको स्वीकार गरेका छन् । 

उनले बजेटको अभावमा अहिलेसम्म दुबै रेलको इन्स्योरेन्स गराउन नसकिएको बताए । दुबै रेलको इन्स्योरेन्सको लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । इन्जिनियर साहले भने,‘ रकम अपुग भएपछि इन्स्योरेन्स गराउन सकिएन । चालु आर्थिक वर्षमा पनि आवश्यकता अनुसारको रकम विनियोजन भएको छैन । इन्स्योरेन्सको लागि थप बजेटको व्यवस्थापन नभए यो आर्थिक वर्षमा पनि हँुदैन ।

दुबै रेलको इन्स्योरेन्सको लागि ७५ लाख रकम खर्च हुने उनले जानकारी दिए । उनले भने इन्स्योरेन्स नभए पनि रेल दुघर्टनाग्रस्त हुँदा यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपूर्ति वापत पाउने व्यवस्था गरिएको छ । त्यसकारण, यात्रुहरुलाई खासै समस्या हुँदैनन् । तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार उठाउनुपर्छ ।’

जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले नियमित रुपमा चलाए पनि दुबै रेल अहिले पनि नेपाल रेल्वे विभागकै नाममा रहेको छ । नेपाल रेल्वे विभागले अझै पनि दुबै रेलको स्वामित्व नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्न नसकेको उनले बताए ।