बर्दिबास, भदौ १४ गते । डिभिजन वन कार्यालय महोत्तरीको डिभिजनल वन अधिकृत सहितको वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ । 


सुराकीले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत मणिराम यादवको नेतृत्वमा सोमवार खटेको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले वराईलीको घर नजिकको बारीबाट सो चिरान काठ बरामद गरेको हो । 


काठसहित वराइलीलाई अनुसन्धानका लागि माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखिएको छ पक्राउ परेका वराइलीमाथि वन ऐन २०७६ अनुसार कारवाही अघि बढाइएको छ । 


यसअघि वर्दिवास १० खयरमाराको माधवटारे वस्तिका २३ घरमा छापा मारी १ सय १५ क्यूफिट काठ वरामद गरेको डिभिजनल वन अधिकृत झाले बताए ।