सप्तरी,असार ११ गते । खाँडो नदी नियन्त्रणको काम सात वर्ष अघि सुरु भएको अहिलेसम्म  पूरा हुन सकेको छैन । नदीमा तटबन्ध निर्माण अधुरो रहेका कारण वर्षामा कटानको खतरा बढेको हो ।

सप्तरीमा बाढीले सबैभन्दा बढी क्षति गर्ने नदीका रुपमा खाँडो नै रहेको छ । जिल्लाका एक दर्जन जति गाउँमा खाँडोमा आउने बाढीको जोखिम रहने गरेका कारण आर्थिक वर्ष २०७२/०७३ मा राजविराजमा खाँडो नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरी तटबन्ध निर्माण सुरु गरिएको हो ।

तिलाठी, बेल्ही, सकरपुरा, मधेपुरा, कोबर्साइन, रुपनी, दिघवा, पकरी, तोपा, विषहरिया, लौनियाँ लगायतका गाउँहरु खाँडोको बाढीको उच्च जोखिममा रहेका कारण तटबन्ध निर्माणको काम थालनी भएको हो । काम सुरु भए यता तिलाठी कोईलाडी गाउँपालिकाको बेल्हीमा सात सय मिटर, रुपनी गाउँपालिका वडा नं.२ मा एक सय ६० मिटर तथा सोही गाउँपालिका वडा नं.६ स्थित तेरहौतामा तीन सय मिटर तटबन्ध निर्माणको काम भएको छ । तेरहौतामा एक सय ५० मिटर काम बाँकी नै रहेका कारण यसपालिको बाढीमा कटानको जोखिम कायमै रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।

यसैगरी तिलाठीका स्थानीयले नदी नियन्त्रणको काम पूरा नभएका कारण यसपालिको वर्षामा पनि बाढीको जोखिम यथाबतै रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे । ६ वर्ष अघि तटबन्ध निर्माण थाल्दा अब त राती ढुक्क भई सुत्न पाईएला भन्ने लागेको थियो, उनीहरुले भने, तर काममा सोचे जस्तो गति नदेखिएका कारण राती कति बेला बाढी पसेर सखाप पार्ने हो भन्ने हाम्रो चिन्ता यथाबतै छ ।

खाँडो नदी व्यवस्थापन आयोजनाका प्रमुख एकराज भट्टराईका अनुसार पर्याप्त बजेटको अभाव, जग्गा सम्बन्धि विवाद, निर्माण व्यवसायी परिचालनमा कठिनाई लगायतका समस्याका कारण काममा बिलम्ब भईरहेको बताए । उपभोक्ता समिति गठनमा समस्या तथा कार्यालय सञ्चालनमा पूर्वाधारको कमी लगायतका समस्याले पनि काम प्रभाबित हुने गरेको उनको भनाई छ ।

उपलब्ध बजेटबाट हालसम्म काम गर्दै आएकोमा नदीमा पानीको सतह बढेका कारण तत्काल काम गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिएका छन् । उनले वर्षाको समयमा ढुंगा अभाव, ढुवानीमा समस्या तथा नदीमा बाढी बढेका कारण तत्काल तिलाठी कोईलाडी, बेल्ही, दिघवालगायतका स्थानमा तटबन्ध निर्माणका कार्यले अपेक्षित गति लिन नसकेको बताए ।