सप्तरी,असार ८ गते । सप्तरीको बलानविहुल गाउँपालिकामा करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको छ । बालनविहुल गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।

बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अबधि नथप्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष यादवले भने, साउनदेखि करारमा कार्यरत कर्मचारीको सेवा अबधि समाप्त हुनेछ, कार्यपालिकाको दुई तिहाई बहुमतबाट भएको निर्णयलाई गाउँसभाबाट पारित गर्छौं । अध्यक्ष यादवले नयाँ करार कर्मचारी भर्ना सम्बन्धमा कुनै निर्णय नभएको जानकारी समेत दिए ।

अहिले गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय भएको छ, म्याद नथपेपछि हटाएको भनी बुझ्नुपर्छ, अध्यक्ष यादवले भने, गाउँपालिकामा कार्यरत कर्मचारी हटाएपनि नयाँ कर्मचारी नियुक्ति सम्बन्धमा कुनै प्रक्रिया प्रारम्भ भएको छैन । उनले गाउँपालिकामा ३० देखि ४० जनाको हाराहारीमा करारका कर्मचारीहरु रहेको बताए ।

बालनविहुल गाउँपालिकामा जनमत पार्टीले अध्यक्ष, उपाध्यक्षसहित भारी बहुमतको साथ जित हाँसिल गरेका छन् ।