अनुभक्त चौधरी,
सिरहा,जेष्ठ २८ गते ।सिरहाको बरियारपट्टी गाउँपालीका वाडा नं. २ खोक्सीमा अवस्थित दास जी पोखरीमा घाट निर्माण भएपछि पोखरीको सौन्दर्यकरण बढेको छ ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको दश लाखको सहयोगमा पोखरी सौन्दर्य कार्यक्रम अन्तर्गत जिर्ण रहेको पोखरीमा घाट निर्माण भएपछि स्थानीय खुशी भएका हुन् ।
घाट निर्माणले पोखरीको संरक्षणसंगै नुहाउन, कपडा धुन, भाडावर्तन माझ्न सजिलो हुनुको साथै विभिन्न स्थानीय चाडपर्वसँगै हिन्दुहरुको महान पर्व छठ पर्व मनाउन घाटले सहयोग पुगेको स्थानीय भागिरथ लाल दासले जनाउनु भयो ।

सबै जातजाती बसोवास रहेको घना वस्तीविच खोक्सीमा घर नजिकैको पोखरी जिर्ण र फोहर हूँदा दास पोखरीको घाटमा नुहाउन, कपडा धुन लगायत छठपर्व मनाउन एक्दमै गाह्रो भइरहेको बेला पोखरी घाट निर्माणले सहज भएको स्थानीय नयन कुमारी सिंहले बताइन ।

करिव दुई विघा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरीमा बाउन्न फिट लम्वाई र पन्द्र फिट चौडाई घाट निर्माण भएको छ । गाउँको विचमा रहेको उक्त पोखरीमा घाट निर्माण भएपछि साविकको खोक्सी जानकी नगरका वडा नं. २, ४ र ६ का स्थानीयलाई पोखरीसँग सम्बन्धित कामको लागि सहज भएको छ ।
घाट नहूँदा सानो ढुङ्गा, काठको मुढा र पलाष्टीकको वोरामा कपडा धुने वाध्यता हटेपनि पोखरीको चारैतिर घाट निर्माणको कार्य पूरा नभइसकेकाले पोखरीको घाट निर्माण गर्न बाँकी रहेको कामलाई पूरा गरिदिन मधेश प्रदेश सरकारलाई स्थानीयले पुनः आग्रह गरेको छ ।





















