राजविराज,जेठ २८ गते । राजविराज–५ मा घर भाडा गरी बस्दै आएका एकल महिला पुष्प स्वर्णकार छिमेकीको कुटपिटबाट सख्त घाइते भएकी छिन् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरा स्थायी घर भई राजविराजमा सँगै डेरी लिई बस्दै आएका आशिष सिंहले निर्घात कुटपिट गरी उनलाई घाइते बनाएको हो ।
अनावश्यक विवाद सिर्जना गरी कसैको सहारा नभएकी स्वर्णकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिटबाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना भई उपचार गराई रहेकी छिन् ।
विगत १५ वर्षदेखि राजविराजमा घरभाडा गरेर बसेकी पुष्पाको श्रीमान्को मृत्यु भईसकेको छ । कसैको सहारा नभएका पुष्पा दिनभरी मजदूरी गरेर १२ बर्षीय छोराको भरणपोषण गरिरहेकी छिन् ।
अस्पतालमा उपचार गराई रहेकी पुष्पाले सिंहको परिवारले विगत २ वर्षदेखि कुदृष्टिले हेरिरहेको बताईन् । सामान्य विषयमा पनि निहुँ खोजेर झगडा गर्ने कुटपिट गर्ने गरेको छ, उनले भनिन्, पछिल्लो पटक–पटक समेत आफैले विवाद सिर्जना गरी कुटपिट गरे ।
जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनीतिक पहुँच भएका कारण प्रहरीले खासै चासो नलिएको उनको आरोप छ । शक्ति र सम्पत्तिको भरमा उनले प्रहरीलाई प्रभाबमा पारेर आफुअनुकुल बनाएको समेत उनले बताईन् । प्रहरी उल्टै आएर हामीलाई थर्काउने गरेको छ पीडित स्वर्णकारले भनिन् मलाई कुटपिट गरेको देखेर मेरो १० बर्षीय छोरोलाई पनि मानसिक असर परेको छ उनले थपिन्, उसलाई पनि उपचारको खाँचो रहेको छ ।
यता सिंहले परिवारलाई गाली गलौज गरेकोले आफ्नो श्रीमतिसँग सामान्य झगडा भएको स्वीकार गरे । आफुहरु परिवार जस्तै मिलेर बसिरहेका थियौं उनले भने, तर पुष्पाको नराम्रो व्यवहारका कारण झगडा भएको र आफ्नो श्रीमतिलाई पनि कुटपिट गरेकी छिन् । सिंहले हामी पनि कानूनी उपचारको खोजिमा रहेको बताए ।
अधिकारकर्मी तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुष्पामाथि अन्याय भएको भन्दै न्यायका लागि आफुहरुले पहल गरिरहेको बताईन् । उनले अस्पाल पुगेर घाईतेको अवस्थाबारे जानकारी लिईसकेले कानूनी प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने बताईन् ।
सप्तरीमा पछिल्लो समय महिला हिंसाको घटना वृद्धि भएको छ भने सरोकारवाला निकायहरु बेखबर छन् ।




















