जनकपुर–नेपाल रेल्वेले लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनमा ल्याए पनि आत्मनिर्भर हुन संघर्ष गरिरहेको छ । करिब दुई महिनादेखि सञ्चालन हुँदै आएको रेलमा यात्री खचाखच हुन्छन् तर पनि रेल्वे आत्मनिर्भरतातर्फ उन्मुख भएको देखिँदैन । दैनिक रुपमा रेल्वेले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेमा मात्र नाफा आर्जन गर्नसक्ने कर्मचारीहरु बताउँछन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा भने अहिले नै रेल सेवा सञ्चालनबाट नाफा नोक्सान निकाल्दा हतार हुने बताउँछन् । उनले रेल्वेको दीर्घकालीन आत्मनिर्भरताका लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।

दुई महिनादेखि नियमित सञ्चालनमा रहेको रेलमा अझै लगानी आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले नै नाफा नोक्सानको हिसाब किताबतर्फ गयौँ भने गाह्रो हुन्छ ।’ उनले माल ढुवानीका लागि कार्गो आवश्यक रहेकाले यसका लागि पनि सरकार, मन्त्रालयदेखि अन्य विभिन्न निकायसँग छलफल गरिरहेको बताए । अन्य संस्थाभन्दा रेल्वे कम्पनी फरक रहेकाले यसको व्यवस्थापनलाई अझै मजबुत बनाउनतर्फ आफूहरुले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

पहिलो चरण अन्तर्गत जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटर रेलसेवा सञ्चालनमा छ । कुर्था–जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा सामान्यतर्फ ७० रुपैयाँ र एयर कन्डिसनसहितको विशेष सेवातर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले दुई वटै रेल सेवाका लागि गुड्ने कार्यतालिका बनाए पनि अहिले एउटै रेलमा दुई वटा रेलको बोगी जोडेर सञ्चालनमा ल्याइएको छ । विशेषगरी आइतबार र बुधबार तथा चाडपर्वका बेला एउटै रेलमा दुई वटै बोगी जडान गर्ने गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडमा महाप्रबन्धक झाको भनाइ छ ।

अहिले जयनगरबाट बिहान साढे ८ बजे र दिउँसो ३ बजे रेल प्रस्थान गर्दछ । यस्तै, कुर्थाबाट बिहान साढे १० बजे र अपराह्न ५ः १५ मा जयनगरतर्फ प्रस्थान गर्दछ ।

रेल्वे सेवाको कार्यतालिका परिवर्तन हुने

अहिले प्राविधिक टिमले बाहिरबाट आएका सुझावलाई मध्यनजर गर्दै पहिलो रेल कुर्था हुँदै जनकपुरधामबाट गुड्ने र त्यसपछि जयनगरबाट जनकपुरधाम हुँदै कुर्थासम्म सञ्चालनका लागि गृहकार्य गरिरहेका छन् ।

अहिले एउटा मात्रै रेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको महाप्रबन्धक झा बताउँछन् । उनका अनुसार दुई सातामा एक दिन रेलको नियमित सर्भिसिङ तथा मेन्टिनेन्स गर्न लाग्ने हुनाले एउटै रेल सञ्चालन गर्नुपरेको हो ।

नियमित दुई वटै रेल सञ्चालनका लागि कम्तीमा तीन वटा रेल आवश्यक हुने उनको भनाइ छ । दुई वटै रेल सञ्चालन गरिएमा दुई सातामा एक दिन रेलको सर्भिसिङ तथा मेन्टिनेन्समा लाग्ने हुँदा रेल सेवा नै एक दिन ठप्प गर्नु पर्ने अवस्था आउने उनले बताए । ‘यस्तो गर्दा सेवाग्राहीमा समस्या तथा भ्रमसमेत उत्पन्न हुने भएकाले एउटा रेलले सेवा दिनु परेको हो,’ उनले भने ।

यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सेवा सञ्चालनले नेपाल र भारतबीच कनेक्टिभिटीमा सफलता मिलेको बताए ।

उनी रेलमा पार्सल बोगी मालसमान ढुवानीका लागि० नहुँदा बजार व्यवसाय तथा व्यापार क्षेत्रमा भने घाटा नै भइरहेको बताउँछन् । उनले रेल्वे सञ्चालन भएपछि भारत तर्फबाट दिनहुँ सयौँको संख्यामा आउने यात्रुका कारण होटेल व्यवसायका क्षेत्रमा भने निकै लाभ भइरहेको बताए । तर होटेल व्यवसायलाई फाईदा भए पनि किराना पसलदेखि अन्य व्यवसायमा भने घाटा हुन थालेको उनको भनाइ छ ।

उनका अनुसार रेल सेवा सञ्चालन भएसँगै यताबाट जाने गरेका यात्रुले भारतबाटै खाद्यान्न, लत्ताकपडादेखि अत्यावश्यक सामग्रीहरु खरिद गरेर ल्याउन थालेपछि जनकपुरको बजारमा मन्दी हुन थालेको छ ।

उनले रेलमा पार्सल बोगी नभएका कारण चामललगायत खाद्यान्न सामग्रीदेखि अन्य सामग्रीहरु समेत महँगोमा भारतको विभिन्न ठाउँबाट ल्याउनु परेको बताए ।

दक्षिण भारतबाट अहिले चामल ल्याउँदा १५ देखि १६ रुपैयाँ प्रति किलो महँगो मूल्य हुने बताउँदै उनले रेलको माध्यमबाट सो चामल ल्याउँदा प्रतिकिलो चामलमा ५ रुपैयाँ खर्च कम लाग्ने जनाए ।

उनले पार्सल बोगीका लागि आफूहरुले समेत पहल गरिरहेको बताए । वीरगञ्जस्थित भारतीय महावाणिज्यदुतावासको माध्यमबाट पार्सल बोगीका लागि लविंग गरिरहेको उनले जानकारी दिए । दुई वर्षअघि भारतीय रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याइएको थियो । सभार रातोपाटीबाट