१७ जेठ, सिरहा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका सिरहाका आधिकारिक उम्मेद्वार विरुद्ध अन्य पार्टीलाई सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी केही व्यक्तिहरुलाई कार्वाही गरेको छ ।
माओवादी केन्द्र धनगढीमाई नगर समितिको कार्वाहीमा पर्नेहरुमा प्रदेश सम्मेलन समितिका किसुन मण्डल, श्रीप्रसाद यादव, नगर सल्लाहकार समितिका कुसुम कुमार मोक्तान, जेष्ठ कम्युनिष्ट मंचका अध्यक्ष सिंहेश्वर महतो, नगर समिति (नेकपा माओवादी केन्द्र) का उपाध्यक्ष बुद्धिलाल चौधरी, नगर समिति सदस्यहरु रामनाथ महतो, गणेश कुमार मोक्तान, सुरेश कुमार महतो, सोमबहादुर लामा र बलिराम यादव, नगर सल्लाहकार समितिका सचिव चन्द्रदेव यादव रहेका छन् ।


त्यसैगरी अन्य पार्टी प्रवेश गरेका प्रदेश सम्मेलन प्रतिनिधि गणपैत यादव, नगर समिति सदस्य धनिकलाल मण्डल, सिंहदल मण्डल, शुभलाल राम तथा १० नं. वडा समिति अध्यक्ष रामचन्द्र मण्डललाई समेत कार्वाही गरिएको छ ।
नगर समितिका अध्यक्ष प्रकाश योन्जनद्वारा जारी विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेद्वारहरु विरुद्ध अन्य पार्टीको मत माग्ने, पार्टीका उम्मेद्वारहरुलाई असहयोग गर्ने, निर्वाचनमा पराजित गर्न भूमिका खेल्ने र अन्य पार्टीबाट उम्मेद्वारी गर्ने व्यक्तिहरुलाई नगर समितिको कार्यालयको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाइएको छ ।




















