जनकपुर,बैशाख २२ गते । धनुषाको कमला नगरपालिमा उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वाडा नं. १ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सर्वदेव यादवका  ७० वर्षीय बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको हो ।

राती घरमै रहेको बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा रहेका व्यक्तिहरु धारीलो हतीयार प्रहार गरि गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरु जसपाको रहेको उनको आरोप छ । उनले घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरीले जनाउनु भयो।  उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गर्नुभयो।