उदयपुर ,बैशाख १५ गते । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले बिक्री लक्ष्य पूरा गर्ने भएको छ।
चालू आर्थिक वर्ष २०७८र७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य सहित सञ्चालनमा आएको उद्योगले हालसम्म १८ लाख ९ हजार बोरा गैंडा छाप सिमेन्ट बिक्री गरिसकेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए। उनका अनुसार आगामी साढे दुई महिनामा ५ लाख ९१ हजार बोरा बिक्री गर्न सके लक्ष्य हासिल हुनेछ।
बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने उनको भनाइ छ।
उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य बजेटमा प्रक्षेपण गरेको भन्दा झन्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्ट उद्योगहरूको उत्पादन माग समेत घटेको अवस्थामा यसले वित्तीय विवरणमा अपेक्षित प्रभाव भने पार्न सक्ने उनले बताए।
२० लाख बोरासम्म कुनै इन्सेन्टिभ नपाउने तर सो माथि बिक्री भएमा प्रति बोरा १० रूपैयाँका दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीहरूमा उत्साह छाएको उनले जानकारी दिए।
उनका अनुसार उद्योगलाई नाफामा लैजान सक्दा बोनस लगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने कर्मचारीहरू लक्ष्य पूरा गर्न लागिपरेका छन्।
थोरै मूल्य बढी भएपनि सचेत उपभोक्ताले गैंडा छाप सिमेन्ट नै खोजेर प्रयोग गर्ने गरेको उनले दाबी छ। कच्चापदार्थको मूल्य आकासिए पनि उद्योगले प्रति बोरा कारखाना मूल्य बढाएको छैन।




















