१० वैशाख, वीरगञ्ज । सत्तारुढ गठबन्धनको भागवण्डामा जनता समाजवादी पार्टी ९जसपा० को भागमा वीरगञ्ज महानगरपालिका परेपछि नेपाली कांग्रेसका स्थानीय नेतृत्व असन्तुष्ट बनेको छ ।


कांग्रेस–जसपाबीच पर्साका सबै स्थानीय तहमा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने जिल्ला स्तरीय सहमति भइसकेको अवस्थामा साझा उम्मेदवारी दिने केन्द्रीय नेतृत्वको निर्णयले कांग्रेसभित्र असन्तुष्टि देखिएको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पर्साका कांग्रेस नेताहरुले असन्तुष्टि  राखिसकेका छन् । तर सुनुवाइ हुने सम्भावना देखिन्न । किनकि वीरगञ्जको जस्तै समस्या अन्यत्र पनि छ । वीरगञ्जमा गठबन्धनकै दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सन्तुष्ट छैनन् । कांग्रेस–जसपाले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।


सत्ता गठबन्धनभित्र खटपट देखिदै गर्दा प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच भने स्थानीय नेताहरूकै अग्रसरतामा चुनावी तालमेल गर्ने निर्णय भएको छ । सहमति अनुसार, एमालेबाट मेयर र लोसपाबाट उपमेयरको उम्मेदवारी पर्नेछ ।


‘वीरगञ्जबासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्यले यो सहमति भएको छ’, एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु र लोसपा अध्यक्ष पुरुषोत्तमलाल झाले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।



८ वैशाख बिहान पत्रकार सम्मेलन गरेरै तालमेलको निर्णय सार्वजनिक गरिएको थियो । ‘एमालेसँग पहिले पनि सहकार्य गरेको हो । पुरानै गठबन्धनलाई रिन्युअल गरेका हौं’ लोसपाका नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘अहिलेका लागि हामी वीरगञ्ज महानगरपालिकामा सहकार्य गर्छौं, अन्यमा हामी कुराकानी गर्छौ ।’



एमाले मधेश प्रदेश इन्चार्ज रहेका पार्टी सचिव रघुवीर महासेठ, वीरगञ्जको विकासका निम्ति तालमेल आवश्यक परेको बताउँछन् ।


एमालेले तानेको मत


०७४ को निर्वाचनमा मुलुककै पहिलो शक्ति बनेको एमाले वीरगञ्ज महानगरपालिकामा भने पाँचौं शक्ति हो । जसपा ९तत्कालिन संघीय समाजवादी फोरम० का उम्मेदवार बनेर विजय सरावगी १९ हजार ३९३ मतसहित मेयर बन्दा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ८ हजार ६८८ मत पाएका थिए । तर पाँच वर्ष अगाडिको पाँचौं शक्ति एमालेले यसपटक आफूलाई बलियो बनाउने प्रयत्न गरेको छ ।


पार्टी बलियो बनाउन मेयर सरावगीलाई पार्टी प्रवेश गराएर एमालेले सर्वसम्मत रुपमा मेयरका उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली आफैं वीरगञ्ज पुगेर २८ फागुनमा सरावगीलाई स्वागत गरेका थिए । सरावगीको व्यक्तिगत मत तान्ने उद्देश्यले नै एमालेले उनलाई जसपाबाट ल्याएर उम्मेदवार बनाएको छ ।


जसपाबाट मेयर ल्याए जसरी नै महानगरका ५ वडाध्यक्षलाई पनि एमालेले पार्टी प्रवेश गराएको छ । कांग्रेस, जसपा लगायतबाट ती वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् । मेयर सरावगी र पाँच वडाध्यक्षको प्रवेश भन्दा बढी शक्ति भने एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलबाट जुटाएको सहज अनुमान लगाउन सकिन्छ । किनकि वीरगञ्जमा लोसपा तेस्रो शक्ति त हो नै,०७४ को चुनावमा तत्कालीन लोकतान्त्रिक फोरमको उम्मेदवार बनेर चौथो धेरै मत ल्याएका विमल श्रीवास्तव पनि अहिले लोसपामै छन् ।


त्यसबेला तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट टिकट नपाएपछि नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका थिए । त्यसबेला श्रीवास्तवले ८,७०१ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार बनेर वीरगञ्जको मेयर भइसकेका श्रीवास्तवको व्यक्तिगत मत राम्रो छ ।


मेयर सरावगी र ५ वडाध्यक्षको एमाले प्रवेश, लोसपा र राप्रपा नेपालसँग तालमेल हुँदाको मतले गठबन्धनलाई पराजित गर्न सकिने एमाले नेताहरु दाबी गर्छन् । ‘दुई वटा शक्ति ९एमाले र लोसपा० मिल्दा हामी बलियो हुन्छौं र चुनाव जित्छौं । पाँच दल नआई एक्ला एक्लै चुनावमा आए जित्न झनै सजिलो हुन्छ’, एमाले पर्सा अध्यक्ष थारु भन्छन् ।


राप्रपा नेपालका नेता एवं पूर्वमन्त्री राजीव पराजली वीरगञ्जकै हुन् । उनको मत पनि आफ्नो उम्मेदवारले पाउने एमालेको विश्वास छ । परिवार दलसँग पनि एमालेले तालमेलको निर्णय गरेको छ । ‘चुनाव जितेर मात्रै वैकल्पिक शक्ति बन्न सकिन्छ । जित्नका लागि नै एमालेसँग तालमेल गरेका हौं’, लोसपाका नेता कर्ण भन्छन् ।


शक्ति बढाउँदै लगेको एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको लोसपाभित्र भने असन्तुष्टि देखिएको छ । लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले असन्तुष्टि जनाएका छन् ।


जिल्ला कमिटी र महानगर कमिटीमा छलफल नगरी तालमेलको निर्णय गरिएको उनीहरुको गुनासो छ । विशेष गरी लोसपा भन्दा सानो शक्तिलाई मेयर छोडेकोमा यी नेताहरुले असन्तुष्टि जनाएका छन् ।


महानगर अध्यक्ष सर्राफलाई भने लोसपा पर्सा अध्यक्ष झाले निलम्बन नै गरेका छन् । असन्तुष्टिबारे पार्टीभित्र छलफल नगरेर मिडियाबाजीमा उत्रिएको भन्दै सर्राफलाई निलम्बन गरेको झाले बताए । यसअघि नै महानगर उपाध्यक्ष फिरोज लगायतले सर्राफविरुद्ध अविश्वासको प्रस्ताव बुझाएका थिए ।


‘पार्टीमा कमवेशी हुन्छ, सबै कुरामा चित्त नबुझ्न सक्छ । असन्तुष्टि थियो त पार्टीमा कुरा राख्नुपर्छ’ लोसपा पर्सा अध्यक्ष झा भन्छन्, ‘सरसल्लाह गरेरै हिँडेका छौं, तैपनि मिडियाबाजी गर्दै हिँड्ने रु पार्टीको मर्यादा भित्र नबसेकोले अध्यक्षबाट निलम्बन गरेका हौं ।’