सिरहा,बैशाख १ गते । सिरहा सहित तराईका जिल्लाहरु महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइरहेका छन् ।
मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको छ । जौ,चना, मकै,भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको छ ।
सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको स्थानिय राम सरण यादबले बताए ।
आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशीर्वादसमेत दिने गर्दछन् । परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ ।
ठूलाबडाले सानालाई प्रदान गर्ने सातु खान र आशीर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोल छिमेक, ईष्टमित्र सबैका बालबालिकादेखि परिवारका सबै सदस्य प्रतिक्षारत रहन्छन् । घरमूलीले बिहानै उठेर कुलदेवताको पूजाअर्चना गर्दै सबैभन्दा पहिले कुल देवतालाई सातु चढाउने गर्दछन् । पूजा गरेर ल्याइएको प्रसादमा मिलाएर सबैलाई सातु खुवाउने परम्परा छ ।




















