काठमाडौं,चैत ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको भन्दै मंगलबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुखका रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाशकुमार यादव तथा बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर भएको भेटिएको छ । साथै आयोगले अनुसनधान केन्द्रका कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठको मिलेमतोमा बंगुुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाइ अनियमितता गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरूले त्यसरी बिक्री गर्दा ७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले अनियमिततामा संलग्न तत्कालीन इकाइ प्रमुख वरिष्ठ वैज्ञानिक रामदेव पण्डित र प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलसँग जनही ७ लाख बिगो दाबीसहित असुलउपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै, प्राविधिक अधिकृत सकुन्तला राईसँग ६ लाख ३१ हजार २ सय बिगो माग दाबी गरेको छ । प्राविधिक सहायक प्रकाशकुमार यादवसँग ३ लाख ३८ हजार २ सय ४० रुपैयाँ बिगो माग दाबी गरेको छ भने वरिष्ठ वैज्ञानिक निर्देशक हरिकृष्ण श्रेष्ठसँग ३ लाख ५२ हजार ४ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ । तत्कालीन लेखा अधिकृत सोभितलाल यादवसँग ३ लाख १८ हजार ७ सय ८० रुपैया बिगो दाबी गरेको छ । त्यस्तै, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्र तरहराका लेखा अधिकृत हाल कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटामा कार्यरत तिलक राजवंशीसँग ३ लाख १० हजार २ सय ४० रुपैयाँ असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।

त्यस्तै, आयोगले सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक ९हाल अवकास प्राप्त० सिद्धिनाथ लाल दाससहिथ तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा महावीर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक ९हाल सेवामा नरहेका० मनोजकुमार चौधरी र तारणीप्रसाद खतिवडा रहेका छन् ।

श्री प्राथमिक विद्यालय नरसिंह–५ सुनसरीका पूर्वप्रधानाध्यपक ९हाल अवकाश प्राप्त ० सिद्धिनाथ लाल दास र महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्बर–९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक ९हाल सेवामा नरहेका० मनोजकुमार चौधरीले तारणीप्रसाद खतिवडासँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय सुनसरी इनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गरेको अनुसन्धानमा खुलेको आयोगले जनाएका छन् ।

साथै, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका–१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्बरमा साबिकको खाता सञ्चालक प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट सो खाता सञ्चालन गरी ५ लाख ६० हजार निकालेर हिनामिना गरेको पाइएको छ । उनीहरूलाई आयोगले सोहीबराबरको बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षकविरुद्ध मुद्दा

छोरालाई कक्षा ११ को परीक्षा पास गराउन सरकारी कागजात सच्याउने तत्कालीन शिक्षक कलानन्द माझीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयमा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझीले ११ कक्षामा अध्ययनरत छोरा शेखर माझीलाई पास गराउन सरकारी कागजातमा हेरफेर गरेको पाइएको छ ।

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मीनराज शर्मा, प्रभात शाही र शेखर माझीविरुद्ध मुद्दा दायर भएको छ । कलानन्दका छोरा शेखर सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत थिए । २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट सञ्चालन भएको अंग्रेजी र फिजिक्सको परीक्षामा पास गराउन खोजेको आरोप छ ।

उनले आफ्ना छोरालाई पास गराउन सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरसहित कन्ट्रोल लिस्ट सच्चाएका थिए । जबकि उनी परीक्षामा सामेल नै नभएको भन्ने उजुरी अख्तियारमा परेको थियो । सो उजुरीमाथि अनुसन्धान हुँदा बुबा कलानन्दले आफ्नो छोराको सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा विद्यार्थीको नाम थर पनि फेरेको अख्तियारले जनाएको छ ।

एकै सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिस्ट बुझी अंग्रेजी विषय र फिजिक्स विषयको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्ने पूर्ण थाहा÷जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानुनी रूपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।