जनकपुरधाम,चैत २७ गते । सिटिईभीटीद्वारा सञ्चालित डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थीहरुले परीक्षा केन्द्र व्यवस्थापनमा विभेद गरिएको भन्दै आन्दोलित भएका छन् ।
आन्दोलित विद्यार्थीहरुले शनिबार दिउँसो जनकपुरधामको रामानन्द चोकमा चक्का जाम गरेका छन् । विद्यार्थीहरुले देशभरिको अन्य ६ वटा प्रदेशमा होम सेन्टर राखिएको र मधेश प्रदेशमा सेन्टरमा परिवर्तन गरेर विभेद गरेकोमा सिटिईभीटी विरुद्ध चर्को नाराबाजी गर्दै एक घण्टा सम्म चक्का जाम गरेका थिए । कोरोना र बन्दाबन्दीको कारण तीन वर्षको डिप्लोमाको कोर्ष लम्बिएर पाँच वर्ष हुन लाग्दा पनि समयमा परीक्षा नहुनु ,परिक्षाको व्यवस्थापनमा पनि विभेद गरिनु जस्ता समस्याको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागी विद्यार्थी जागेश्वर यादवले बताए ।
त्यस्तै सिटिईभीटीद्वारा सञ्चालित सबै क्याम्पसहरुमा कोरोनालाई मध्य नजर गर्दै शुल्कमा १५ प्रतिशत छूट दिने निर्णय गरिए पनि सो अनुसारको छुट नपाएको भन्दै आन्दोलनमा उत्रेको डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिपेन्द्र शर्माले बताए ।
विद्यार्थीहरुले २४ घण्टा भित्र माग पूरा नभए सीटिईभीटीको कार्यालयमा तालाबन्दी सहितका कार्यक्रम अघि बढाउँदै आन्दोलन चर्काउँदै जाने चेतावनी समेत दिएका छन् । चक्का जाम गरेका विद्यार्थीहरुलाई प्रहरीले धपाएका थिए ।




















