काठमाण्डौ, चैत्र २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १४औँ  वार्षिक साधारणसभाले ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बिहीवार सम्पन्न १४औँ  वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको जनाएको  छ। १४ औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम विहिवार  (२०७८ चैत २४ गते)  देखि शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ।

करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति रहेको उक्त सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७८र७९ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्त निर्धारण गरेको छ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षाअनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न रचनात्मक सुझावका लागि आग्रह गरे।