महोत्तरी,चैत २५ गते । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।

चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।

‘देशमा ठूलावडालाई चुनावी रन्को छ, हामीलाई पानी खान नपाइने हो की भन्ने चिन्ता छ’, भङ्गाहा नगरपालिका–४ टोका बस्तीका राजकुमार दासले भने, ‘इनारको पानी रसातलमा पुगिसक्यो, राम्ररी डोल ९बाल्टिन डुब्न खोज्दैन, चापाकलले त मध्य चैतअघि नै जवाफ दिइसके ।

चैत नबित्दै पानीको यो हाहाकारले वैशाख÷जेठ कसरी टर्ने हो, सम्झेरै अत्यास लाग्ने उनले बताए । भङ्गाहा नगरक्षेत्रका ४ र ५ नं वडा बस्तीमा वर्षेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । ‘हामीले थाहा पाउँदै १५ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मुल भेटिन्थ्यो, अब त ती पुराना इनार सबै सुके’, भङ्गाहा–४ कै ६० वर्षीय हरिदेव साहले प्रश्न गरे, ‘किन होला पानीका मुहान गहिरिएका ?

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ ।

‘एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैन्थें, पछिल्ला केही वर्षयता नदी, पाखा र बगरपर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्’, बर्दिबास–१० खयरमाराका सामाजिक, राजनीतिक कार्यकर्ता प्रेमध्वज लामाले पानीका मुहान सुक्दै जानुको कारणबारे भने, ‘वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।’

बर्दिवास–१, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले बताए । ‘हाम्रो यताका धारामा पानी कहिल्यै सुक्दैनथ्यो’, केही वर्ष पहिलेको अनुभव प्रष्ट्याउँदै उनले भने, ‘पछिल्ला तीनरचार वर्षदेखि गर्मीयाममा पानी झर्न कम भएको छ ।’ त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।

यस बाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा होमबहादुर श्रेष्ठले बताए । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ

यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो ।

बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । ‘पहिलेपहिले पनि इनार त सुक्थे’, विजयबस्तीकी गृहिणी मनमायाले भनिन्, ‘जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुईरतीन वर्षदेखि त चैतमै इनार सुक्न थालेका छन् ।’

बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन)पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । ‘बाल्टिनभरि पानी आउँदैन, बाल्टिनमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५र१६ वटा डोल ठोक्किँदा अलिकति पानीमाथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भनिन्, ‘चैतमै यो हालत छ, जेठसम्म के होला ?

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका ९बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका० बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सँम्झदै बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताए ।

आफ्ना वरिपरिका इनारहरु धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नु परेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल ९इनार बनाउँदा लगाइने सिमेण्ट, छड लगाएर बनाइएको रिङ्ग० मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहले बताए ।

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई नुवाइधुवाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका सो बस्तीका भरत यादवले बताए । इनारहरु धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा वालुवा ढुङ्गा उत्खनन् गर्नेहरुले ठूलठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् ।

‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरवाही गर्‍यौं’, महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादवले भने, ‘नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।’

स्थानीय तहको निर्वाचन सम्पन्न भएर २०७४ यता जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिएपनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमध्यमै सुक्दै गएका विज्ञ बताउँछन् ।

चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र , नदी, सिमसार क्षेत्र र पोखरी ९तलाउ० पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे विज्ञ डा। विजयकुमार सिंहले बताए ।

विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न रहेका डा। सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गरे । यसपालि हुन लागेको स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा यो बन्नुपर्नेमा उनको जोड छ ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट वालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा खोपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइलाई स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।

यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । ‘हामी प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएका छौं’, बर्दिबास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले भने, ‘विकास र पूर्वाधार निर्माणका योजनामा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।’

स्थानीय तहले खानेपानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञहरु बताउँछन् ।