काठमाण्डौ चैत्र २५ गते । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई बढार्नुपर्ने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।
‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरूको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुवा कार्यकर्ताहरूलाई भने।
बाँके जिल्लालाई अब एमालेको किल्ला बनाउनुपर्ने भन्दै ओलीले स्थानीय तहका सबै पदाधिकारी जिताउन क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए। नेकपा ९एकीकृत समाजवादी०का कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराएका उनले नेकपा ९एस०लाई अब ‘नेकपा फुस’ बनाउनुपर्ने पनि बताए।
ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताउँदै त्यसको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गरे। उनले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताए।
सरकारले अर्थतन्त्र सुधार गर्नभन्दा योजनाहरू कटौती गर्न थालेकोले अब वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका ओलीले व्यक्त गरे। पाँचदलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी शक्तिको षडयन्त्र सफल हुने पनि ओलीको तर्क छ।
कार्यक्रममा नेकपा ९एस० बाँकेका सहसचिव र युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव किशोर थापा एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूलाई नेकपा एमालेका अध्यक्ष ओली र नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वागत गरेका थिए ।




















