जनकपुर,चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे सेवाको नियमित सञ्चालन मधेश प्रदेशको विकासको लागि कोशेढुँगा साबित हुने बताएकी छिन् ।
विभिन्न बाधा अवरोधका वावजुद निर्धारित समयमै रेल्वेको सुरुवात गर्न सक्नु मधेश प्रदेशवासीकै लागि ठूलो सफलता रहेको उनले बताइन् । जनकपुर उद्योग वाणिज्य संघले सोमबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भनिन,‘नेपाल भारत सीमामा भन्सारको यथाशीघ्र भन्सारको व्यवस्थापन गर्ने तयारी छ र सो पछि छिट्टै मालवाहक रेल सेवा सञ्चालनको योजना छ।’
भारतबाट नेपालसम्म आयात निर्यातको लागि मालवाहक रेल आवश्यक रहेकोले यसको लागि मन्त्रालयले पहल सुरु भइसकेको जानकारी दिँदै उनले मालवाहक रेल सेवा सुरु हुनु अघि भन्सार व्यवस्थापन नै मुख्य चुनौती रहेको बताइन् । उनले रेल सेवा कुर्थादेखि बिजलपुर ासम्मको पनि सम्पूर्ण तयारी भइसकेकोले यसको हस्तान्तरण गर्ने समय आइसकेको बताउंदै उनले बिजलपुरादेखि बर्दिवास सम्म रेल संचालनको लागि समेत काम द्रूत गतिमा हुँदै आएको छ र छिट्टै नै जयनगरदेखि बर्दिवाससम्म रेल्वे सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।
रेल्वे सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापारिक घनिष्ठता बढ्ने र विभिन्न प्रकारको व्यवसायमा वृद्धि भइ हजारौं व्यक्तिले रोजगारी पाउने निश्चित रहेकोले रेल्वेको संरक्षण सम्वद्र्धनमा व्यापारीहरुको उल्लेखनीय भूमिका रहने बताइन् ।




















