उदयपुर,चैत १४ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्  भने एक जनाको मृत्यु भएको छ । 

दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको  मृत्यु भएको हो ।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए ।आगलागीबाट अन्नपात, लत्ताकपडा सवै जलेका छन् ।