सिरहा,चैत १३ गते। सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा तीन सय ३३ जनाले उपचार पाएका छन् । 

धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना कार्यलय सिरहा र सि.एम.सी.को संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्नुका साथै मानसिक स्वास्थ्यका लागि मनोविमर्श सेवा समेत दिएको थियो । 

शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित विरामीहरु (जस्तै ः सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा समस्या, पाठेघर झरेको, पाठेघरको मुखको क्यान्सर ) फेला परेको ओरेक परियोजना कार्यालय लहानका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी गराईन् । 

स्वास्थ्य शिविरमा स्त्री तथा महिला रोग विशेषज्ञ डा।कुसुम यादव,  जनरल फिजिसियन प्रतिक्षा मिश्रले सहजीकरण गरिरहनुभएको छ । त्यसबेला ओरेकले जडिबुटीबाट निको हुने स्थानीय स्तरमै पाइने जडिबुटीको बारेमा समेत सहजीकरण गरिएको थियो । 

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रमको संचालन ओरेक परियोजना संयोजक शर्मिला निरौला तथा स्वागत मन्तव्य नयनपुर अस्पतालका स्वास्थ्य संयोजक सुरैत चौधरीले गर्नुभएको थियो । शिविरमा धनगढीमाई नगरपालिका उपप्रमुख फुलकुमारी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।