नुवाकोट,चैत १३ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरे । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शीतलता महसुस गरेको बताउँदै डा। यादवले चुरे दहन रोकिनुपर्नेमा जोड दिए । यही क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो ।
सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा। रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले देशको अर्थतन्त्र राम्रो बनाउन कृषि तथा जलविद्युत उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शिवपुरी पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँ रहेको बताए । नेतृत्वमा बस्नेले विचार नमिल्नेहरूको पनि कुरा सुनेर सबैलाई मिलाउनुपर्ने केसीले बताए ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गरे । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले निष्पक्ष ढङ्गले सेवा प्रवाह गर्न सबै कर्मचारीहरूलाई आग्रह गरिन् ।
नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसीले कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त हुनाले नेपाली जनताले दुःख पाएको बताए । उनले नेताहरू संवृद्ध बनेको तर जनताले सुखको अनुभूति गर्न नपाएको जिकिर गरे ।




















