काठमाडौं, चैत ५ गते । २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेशन जडान भइसकेको छ ।

माथिल्लो तामाकोशीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२ दशमलव चार मेगावाट क्षमताको लिखु चौथो र २४ दशमलव दुई मेगावाट क्षमताको लिखू खोला ’ए’ बाट उत्पादित विद्युत सबस्टेसनमा जोडिएको छ ।

त्यस्तै, यस सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००र२२०र१३२ केभी सबस्टेसनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दै छ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप प्राधिकरणले जनाएको छ ।