सिरहा,फाल्गुन ३० गते । सिरहास्थित धनगढीमाई नगरपालिकाको करिब १४ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न पाँच तल्ले भवनको आज विधिवत् रुपमा उद्घाटन भएको छ ।
तीन वर्षको अथक प्रयासपछि निर्माण भएको नव निर्मित भवनलाई उद्घाटन गर्नुहुँदै नगर प्रमुख हरिनारायण चौधरीले जनतासँग गरेको बाचा मध्ये नगरपालिकाको गौरवको योजना प्रशासकीय भवन निर्माण सम्पन्न भएको प्रति आफूलाई थप उत्साहित बनाएको बताउनुभयो ।

भवन अभावमा कार्यालयहरु छुट्टा छुट्टै रहेकाले छिटो छरितो रुपले जनताले पाउने सुविधाबाट वंचित रहँदै आएका कारण आफूलाई खिन्नता महसुस भइरहेको वताउँनु हुँदै नगरप्रम्ुख चौधरीले निर्धारित समयमै भवन निर्माण सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति आफू अभारी रहेको वताउनुभयो ।

सिरहाको १७ वटा स्थानीय तहमध्ये भूगोलको हिसावले दोश्रो ठूलो नगरपालिका धनगढीमाई नगरपालिका हो । १४ वटा वडा रहेको नगरपालिकामा भवन अभावमा छरबरिएर रहेका कार्यालयका कारण छिटो छरितो सेवाग्राहीहरुलाई सेवा दिन सकिरहेका थिएन ।
स्थानीय कपिलदेव महतो र पुनम कुमारी महतोले भवनको लागि निःशुल्क रुपमा प्रदान गरेको १३ कठ्ठा जग्गामा भवन बनेसँगै जनताले एकै ठाउँबाट अबका दिनमा एक साथ नगरपालिकाको सबै सेवा प्राप्त हुने देखिएपछि नगरवासीहरु खुशी प्रकट गरेका छन् । त्यसबेला जग्गा दातालाई नगर प्रमुख चौधरीले सम्मान समेत गर्नुभएको थियो ।





















