महोत्तरी, फागुन २६ गते – महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा नापी र मालपोत कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । गौशालामा नापी र मालपोत कार्यालय स्थापनाका गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहमति दिने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।
महोत्तरीको गौशालासहित बाँकेको कोहलपर, डडेलधुराको जोगबुढा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिपद्मा प्रस्ताव पेश गर्न सहमति प्रदान गर्ने फागुन १८ गतेको अर्थमन्त्रालयको मन्त्रिस्तरको बैठकबाट निर्णय भएको मन्त्रालयका शाखा अधिकृत अनिता भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भूमि व्यवस्था मन्त्रालयले मन्त्रालय तथा मातहत निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी प्रतिवेदन पठाएर सहमति माग गरेको थियो । सोही प्रतिवेदन अनुसार गौशालासहित चार स्थानमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति प्रदान गर्ने निर्णय भएको सूचना बुधबार अर्थ मन्त्रालयले भूमि व्यवस्था मन्त्रालयलाई पठाएको छ ।
नगरपालिकाले नापी र मालपोत कार्यालय स्थापनाको लागि भूमि व्यवस्था मन्त्रीसँग विशेष अनुरोध गरेर पहल थालेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । अन्नपूर्णसँग कुराकानी गर्दै मेयर महतोले भने, ‘गौशालासहित यस भेगका जनताको समस्या र बाध्यताको विषयमा मन्त्रीजीसँग भेटेर हामीले विशेष अनुरोध गरेका थियौं । उहाँले त्यो कुरालाई सकारात्मक रुपमा लिनुभयो । त्यसको नतिजा हो यो निर्णय ।’ गौशाला नगरपालिकासहित वरपरका पालिकाका स्थानीहरुलाई लामो दुरीको यात्रा गरी सदरमुकाम जलेश्वर पुगेर नापी मालपोतको सेवा लिनुपर्ने बाध्यता थियो । ‘जलेश्वर पुग्नुपर्दा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने सेवाग्राहीहरु बढि प्रभावित हुँदै आएका थिए । पाँचसयको ठाउँमा एकहजार खर्च हुन्थ्यो । त्यो एकदमै गाह्रो विषय थियो । अब त्यो बाध्यता हट्ने भएको छ । यस क्षेत्रका जनताको लागि यो एकदमै खुशीको कुरो हो । हाम्रो आग्रहलाई सकारात्मक रुपमा लिनुभएकोमा मन्त्रीजीलाई विशेष धन्यवाद,’ खुशी व्यक्त गर्दै मेयर महतोले भने ।
कार्यालयका लागि कर्मचारी र घर तयारी अवस्थामा राखेका छौं । अब सरकारको निर्णय हुन मात्रै बाँकी छ ।
तत्काल मन्त्रालयबाट उपलब्ध नभएसम्म कार्यालय सञ्चालका लागि भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समेत नगरपालिकाले सहजता प्रदान गर्ने मन्त्रालयमा आफूहरुले वचन दिएको पनि उनले सुनाए । ‘हामीले मन्त्रिजीलाई कम्तिमा स्थापनाको निर्णय गराइदिनुस् । कार्यालयको लागि घर र कर्मचारी तत्काल हामी आफै व्यवस्थापन गर्छौ भनेर अनुरोध गरेका थियौं,’ मेयर महतोले भने ‘त्यसै अनुरुप अहिले हामीले नापी र मालपोतबाट तालिम दिलाएर कर्मचारी तयारी अवस्थामा राखेका छौं । घर पनि तयार छ । हामी सरकारको निर्णय कुरेर बसिराका छौं ।’ गौशालामा नापी र मालपोत स्थापना गर्नका लागि सम्सी औरही नगरपालिका र सम्सी गाउँपालिकाले लिखित रुपमै सहमति दिएको मेयर महतोले जानकारी दिए । गौशालामा नापी र मालपोत स्थापना भए आफ्नो पालिकाका जनतालाई समेत सहज हुने उद्देश्यले दुई पालिकाले लिखित रुपमै सहमति दिएको छ । अब त्यो कार्यक्षेत्रको विषयमा सरकारलेनै तय गर्छ,’ उनले भने




















