मुम्बई,फागुन २६ गते –  गृह ब्यानरमा निर्मित ‘बजरंगी भाइजान २’ छायांकनका लागि समय दिन लागेको बलिउड अभिनेता सलमान खानले अर्को महिनाबाट ‘कभी दिवाली कभि इद’ छायांकन सुरु गर्ने भएका छन् ।

साजिद नाडियाडवालाको प्रोडक्सनमा निर्माण हुन लागेको यो फिल्म १५ मार्चमा मुम्बईमा ‘फ्लोर’मा जाने बताइएको छ । यो फिल्म रिलिजपछिको सबैभन्दा ठूलो डिजिटल र स्याटेलाइट सम्झौता तयारीमा निर्माण पक्ष रहेको छ । ‘कभी इद कभी दिवाली’ डिजिटल र स्याटेलाइट प्रदर्शनका लागि १ सय ३० करोड भारतीय रुपैयाँ प्रस्ताव आएको छ । निर्माण पक्षले भने १ सय ५० करोड मागेको छ । अमेजन र जीसँग सलमानको सम्झौताका कारण ‘दबंग ३’ पनि सोही दायरामा थियो ।

फिल्म रिलिजपछि डिजटल प्लेटफर्ममा राम्रो व्यापार गर्ने विश्वास डिजिटल प्लेटफर्म सञ्चालकको छ । साजिद नाडियाडवाला सलमान खानका साथी हुन् । सलमानका धेरै फिल्म साजिदले निर्माण गर्दै आएका छन् । सोही कारण पनि साजिदको अनुरोधमा ‘बजरंगी भाइजान २’ छायांकन केही समय सारेर सलमानले तत्काल यो फिल्म छायांकन सुरु गर्न लागेका हुन् । सलमान खानसँग यो फिल्ममा अभिनेतृ पूजा हेगडे पहिलोपटक ‘स्क्रिन सेयर’ गर्दै छिन् । फिल्म २०२२ कै दिवाली व २०२३ को इदमध्ये एक मितिमा रिलिज गरिनेछ