काठमाडौं,फागुन २६ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । यसअघि वैदेशिक रोजगारीका लागि विमानस्थलको श्रम डेस्कमा पुगेका कामदारलाई सहीछाप लगाउने नाममा अनावश्यक दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

विगत केही महिनादेखि नै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई यसरी अनावश्यक दुःख दिएको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रम डेक्स हुँदा र नहुँदाको फाइदा बेफाइदा’दयगत सबै जानकारी लिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठकै निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र वैदेशिक रोजगार विभागको सूचना प्रणालीको एकीकरण सम्पन्न भएको भन्दै अध्यागमन विभागले अब त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले श्रम स्वीकृतिको विवरण आफंै हेर्न सक्ने व्यवस्था गरिएकाले श्रम डेस्क हटाउन सकिने सुझाव दिएको थियो । सोही सुझावको आधारमा मन्त्री श्रेष्ठले विमानस्थलको श्रम डेक्स हटाउने निर्णय गरेका हुन् । जसका लागि बुधबार मन्त्री श्रेष्ठ, श्रम सचिव एकनारायण अर्यालसहित मन्त्रालयका अधिकारीद्वारा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाइएको हो ।

अब वैदेशिक रोजगारीमा जाने कामदारले भिन्दै लाइन बस्न नपर्ने

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअघि एक ठाउँमा मात्र रहेको श्रम डेक्स हटाइएपछि अब वैदेशिक रोजगारीमा जाने नेपाली कामदार विमानस्थलको भीआईपी जाने बाटोबाहेक सबै अध्यागमन काउन्टरबाट सहज रूपमा आफूसँग भएको श्रम स्वीकृति र भिसा लागेको राहदानीलगायत आवश्यक कागजात देखाएर जान पाउने बताए । उनले मन्त्रालयको यस्तो कार्यले कामदारलाई विगतमा जस्तो श्रम डेक्समा लामो लाइन बस्नुपर्ने झन्झट हटेकाले धेरै सजिलो हुने अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने कामदारलाई यसअघि विमानस्थलमा अर्कै दर्जाको नागरिक जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको बताए । यस निर्णयले अब कामदारको प्रस्थानलाई छिटोछरितो बनाउन तीनवटै ढोकाबाट प्रवेश पाउने उनले बताए ।

हाल अनलाइन सूचना प्रणाली आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । यसअघि सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा कामदारलाई दुःख दिएको गुनासो आएको थियो । अझै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई विमानस्थलमा आइपर्ने समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरे ।

यसैगरी, मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पीसीआर परीक्षण चेकजाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरे । यसअघि वैदेशिक रोजगारीमा जाने र घर बिदामा आएका नेपाली कामदारलाई अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ पासको प्रक्रिया अघि बढाइन्थ्यो । अब कामदारले श्रम डेस्क नगई सिधै जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् । विमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका कामदारको सहजीकरणका लागि विशेष काम गर्नेछ ।

यसअघि कामदारले साथमा लिएका श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको थियो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका कामदारले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छ । चालू आर्थिक वर्षको बितेका ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दा धेरै

श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए ।

यसअघि वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका दैनिक २ हजार कामदारले लामो लाइन बसेर श्रम स्वीकृतिको छाप लगाउनुपर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए । श्रम डेस्क हटाइएपछि उनीहरू पनि खुसी भएका छन् । यसअघि वैदेशिक रोजगारीमा जान कामदारले तीनवटामध्ये एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने विभेदपूर्ण नियम थियो । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको प्रस्थानद्वारलाई एउटा मात्र सीमित गरिएका कारण विमानस्थलभित्र प्रवेश गर्नसमेत कामदारले घन्टौं लाइन बस्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको मन्त्रालयले जनाएको छ