काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । त्यसमा उल्लेख भएअनुसार घटनामा आर्थिक कारण जोडिएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले घटनास्थलबाट ‘सुसाइड नोट’ फेला पारेको हो ।

एकको मृत्यु, चार गम्भीर

आर्थिक लेनदेन कारण रहेको ‘सुसाइड नोट’ भेटियो

सो सुसाइड नोटमा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटकपटक ताकेता गरेको उल्लेख छ ।

यस्तै सो सुसाइड नोटमा परिवारमा ठूलो आर्थिक संकट र डिप्रेसनका कारण आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका एक अधिकारीले जानकारी दिए । सो सुसाइड नोटमा पारिवारिक तनाव र आर्थिक विषय लेखिएका छन् ।

‘घटनामा आर्थिक कारण तनावको अवस्था देखिएको छ, सुसाइड नोटको संकेत त्यही छ, डिप्रेसनको समस्या पनि कारक देखिन्छ, थप अनुसन्धान जारी छ,’ ती प्रहरी अधिकृत भन्छन् ।

विष सेवन गर्नेमध्येका ३३ वर्षीय सुर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् ।

उनका अनुसार घटनामा गम्भीर घाइते ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीया भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरूको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार जारी छ ।

घटनास्थलबाट चार किसिमका कीटनाशक औषधिको प्याकेट बरामद भएको प्रहरीले जनाएको छ । सो विषादीलाई उनीहरूले पानीमा घोलेर खाएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनास्थलबाट फेला परेका विषादीका बट्टालाईसमेत आधार मानेर अनुसन्धान अघि बढाए पनि घटनामा सामूहिक आत्महत्याको प्रयास भएको प्रहरीको अनुमान छ ।