महोत्तरी,फागुन २४ गते – महोत्तरीमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार गौशाला नगरपालिका–२ निगौलका २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए। सोमबार बेलुका गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित सुमो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
गौशालाबाट जलेश्वरतर्फ जाँदै गरेको प्र.२—०२—००१च ८४१नम्बरको सुमो गोल्ड जीप र विपरीत दिशाबाट आउँदै गरेको अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना दुवै जना गम्भीर घाइते भएका थिए। दुवैजनालाई उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए। दुर्घटनामा संलग्न सवारी र जीपचालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ




















