सिरहा, फाल्गुन २२ गते । प्रेम गरेर विवाह बन्धनमा बाँधिएको महिना नबित्दै श्रीमतीलाई हत्या गरेको आरोपमा सिरहा कर्जन्हा ७ का राम नरेश रउतको छोरा २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरेको छ । आज सिरहा प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोप लागेका राउतलाई सार्वजनिक गरेका हुन् ।

कर्जन्हा नगरपालिका वडा नं.७ स्थित कमला नदी किनारको काँस घारीमा काठमाडौंको जैशी देवलकी २२ वर्षीय छोरी पूजा कुमारी पौदारको शव मंगलबार फेला परेको हो । वैदेशिक रोजगारीमा रहेका अमर र पूजाको सामाजिक संजालमार्फत् चिनजान भई एक वर्षदेखि प्रेम झांगिंदै गएपछि राउत नेपाल फर्किएपछि पूजासँग आ आफ्नो परिवारलाई जानकारी नै नदिई गुपचुप रुपमा दुवै जनाले माघ २७ गते विवाह गरी काठमाडौंको बाफलमा डेरा लिई बस्दै आएको प्रहरीको बयानमा उल्लेख रहेको छ ।

प्रमिकासँग विवाह गरेर अमरले आफ्नो घर परिवारलाई मनाउन खोज्दा घर परिवारले नमान्दा उनी फर्केनन् । सिरहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाका अनुसार पूजाबारे घर परिवारलाई मनाउन आएकोमा उल्टै उनी धनुषाकी अर्की युवतीसँग विवाह गर्न राजी भएको उल्लेख गरेका छन् ।
श्रीमान फर्केर नआएपछि पूजा १६ गते अमरलाई खोज्दै सिरहाको बस्तिपुर अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरसहितका साथीहरु मिलेर पूजाको हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरु फरार रहेका छन् उनीहरुको खोजी कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।




















