सिरहा फागुन १९ गते । ऐतिहासिक तथा पुरातात्विक स्थल सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखर बनौलीमा रहेको महाकवि विद्यापति गढमा घेराबेरासँगै संग्राहलय भवन र शिव मन्दिरको निर्माणको कार्य भइरहेको छ ।

ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न रहेको उक्त स्थानलाई संरक्षण सम्बर्धन गर्न प्रदीप गिरीको सांसदीय विकास कोषबाट ४५ लाखको लागतमा विभिन्न संरचनाहरुसँगै बन्न लागेको दुई तल्ले भवनभित्र पहिलो तल्लामा कार्यालय र पाहुना घर तथा अर्को तल्लामा महाकवि विद्यापति सम्बन्धी भेटिएका प्रमाणहरुको संग्रहसँगै दस्तावेज, लेख, रचनाहरु रहने जनाइएको छ ।

१२ कठ्ठा क्षेत्रफलमा रहेको विद्यापति गढलाई पुरातत्व विभागले त्यस वरपर कुनै संरचना नबनाउन भनेपछि स्थानीय श्रीदेव रामले संग्राहलयको लागि १३ धुर जग्गा निःशुल्क रुपमा प्रदान गरेपछि सो संग्राहलाय भवन बन्न लागेको हो । अहिले पनि सो ठाउँ वरिपरि खन्दा राजदरवार रहेको अवशेषहरु फेला परिरहेको स्थानीय बताउँछन् ।

यसअघि वरिपरि कुनै घर र भवन नहुँदा विद्यापति गढ हेर्न तथा अवलोकन गर्न आउने पर्यटकको लागि विश्राम गर्ने ठाउँ नरहेकोले घाम पानीको बेला समस्या भईरहेकोले बन्न लागेको संग्राहलयले गढी हेर्न आउने आगन्तुकहरुको लागि सहज हुने स्थानीयको बुझाई रहेको छ ।
राजा हरिसिंह देव सिंह र पुरादित्य देव सिंहको राज दरवार रहेको उक्त स्थानमा महाकवि विद्यापतिले १२ वर्ष प्रवास काल विताएको किम्बदन्तीमा उल्लेख छ । प्रवास कालकै समयमा महाकवि विद्यापतिले आफ्ना विभिन्न रचना, कविता, नाटक लगायतका संग्रहहरु लेखेको किम्बदन्तीमा उल्लेख छ ।






















