वीरगन्ज,फागुन १८ गते – बारामा भएको छुटटा छुट्टै सवारीसाधन दुर्घटनमा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। 

बाराको कोल्हबी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको हो। कोल्हबी नगरपालिका वडा नम्बर–  ६ अधन्वा स्थित सडकमा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ८० वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो। प्रहरीका अनुसार पैदलयात्री थरुनीलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि वीरगन्जको सुर्या अस्पतालमा ल्याइएको र उपचारका क्रममा मङगलबार राति १० उनको मृत्यु भएको हो।  ठक्कर दिने मोटरसाइकल र त्यसका चालक कोल्हबी नगरपालिका ८ का २५ वर्षीय वशिष्ठ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

यस्तै बाराकै सिम्रौनगढ नगरपालिका वडा नंबर ९ बसवरिया टोल स्थित नहर सडक खण्डको पुलमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। कचोर्वाबाट फर्किने क्रममा बी.आर. ०५५ जेड १६५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ पुलमा ठोक्किएर पुलमुनि खसेको हो।  दुर्घटनामा मोटरसाइकलका चालक भारतको मोतिहारी जिल्लाको निरपुर ग्रामका २५ वर्षीय सियाराम कुमार लहेरा गम्भीर घाइते भएका हुन्। टाउको र अनुहारमा चोट लागेका उनको नगरहस्पिटल सिम्रौनगढमा उपचार भइररहेको प्रहरी चौकी बारागढीले जनाएको छ। यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको सडकखण्डमा दुइ वटा मालवाहक सवारीसाधन दुर्घटना हुदा दुवै गाडीका चालक सामान्य घाइते भएका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित काजघाट जाने बाटोमा मे.१ ख.२०६५ नम्बरको मिनिट्रक र प्रदेश २–०३–००१ ख ४४४४ नम्बरको टिपर एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ