सिरहा,फागुन १७ गते – मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।

मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले जानकारी दिए ।

नेपाल भारतका हजारौं यात्रीहरुले कल्याणेश्वर स्थानमा एक रात विश्राम गरी १५ दिने परिक्रमा सफलताको लागि संकल्प लिने र त्यहाँबाट अगाडि बढ्ने परम्परा रहिआएको छ । सोही परम्परा अनुसार यस वर्ष पनि कल्याणेश्वर महादेवलाई साक्षी राखेर यात्रीहरुले यात्रा प्रारम्भ गर्ने कार्यक्रम रहेको महन्त शरणले बताए ।mathila dham prikarma

२१ गते भारतकै फुलहर स्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरुले विश्राम गर्नेछन,भने २२ गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ । त्यसै गरी २३ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ भने २४ गते मडै ,२५ गते ध्रुबकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको उनले बताए । २६ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरुले होली महोत्सव मनाउने गरेका छन् । कञ्चनवनमा होली महोत्सव मनाइ यात्रीहरु २७ गते धनुषाको पर्वता अर्थात क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने २८ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन ।

त्यसै गरी २९ गते सतोखर,३० गते औरही र चैत १ गते पुनःभारतको बिहार स्थित करुणा स्थानमा विश्राम तथा २ गते बिसौलमा पुगेर विधिवत् रुपमा मध्यमा परिक्रमा समापन हुनेछ । तत्पश्चात परिक्रमा ४ गते जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्र्तगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । स्वस्फुर्त रुपमा आफ्नै घरबाट भोजन सहित हजारौंको संख्यामा यात्रीहरुले यस परिक्रमामा सहभागिता जनाउने गरेका छन् । यो यात्रा १ सय ३३ किलोमिटरको रहेको बताइन्छ । यता मन्दिरहरुबाट परिक्रमाको लागि तयारी पूरा भए पनि यात्रुहरुको लागि आवश्यक ठाउँ ठाउँमा चाहिने शौचालय तथा खानेपानीको चरम समस्या हुने गरेको छ ।

मधेश प्रदेश सरकारको पाँच वर्षे कार्यकाल पूरा हुन लाग्दा पनि मध्यमा परिक्रमाबारे क समेत उच्चारण गर्न नसकेको दुर्भाग्यपूर्ण स्थिति विद्यमान छ । यता यसै परिक्रमा मेला लगायतको धार्मिक सांस्कृतिक संरक्षण सम्वद्र्धनकै लागि स्थापना गरिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पनि यस वर्ष परिक्रमाको व्यवस्थापन बारे केही पनि गर्न नसकेको देखिएको छ । त्यसैगरी मेला व्यवस्थापनको लागि स्थानीय पालिकाहरुले गर्नु पर्ने व्यवस्थापनमा समेत कसैले चासो नदिँदा यात्रीहरुले विभिन्न प्रकारको समस्या भोग्नु परेको छ । । धर्मशाला ,मन्दिर सौन्दर्यकरणमा काम गरेको दाबी गर्दै आएको मधेश प्रदेश सरकारले मिथिला मध्यमा परिक्रमाको लागि भने केही पनि गर्न नसकेको जनगुनासो छ