काठमाडौं,फागुन १५ गते – युक्रेनमा रहेका नेपालीको उद्धार हुने भएको छ । गैरआवासीय नेपाली संघले दूतावासको सहयोगमा उद्धार गर्न लागेको हो । संघको सक्रियतामा रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति गठन भएको छ ।
समितिले युक्रेनबाट सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गरी नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्नेछ । सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन हुने भएको छ ।  उद्धारको लागि स्थानियरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरिएको छ ।
युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत  उद्धार थालिएको छ ।
हालसम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग  ४ सय जना नेपाली सम्पर्कमा आएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार र सहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा समिति गठन भएको हो ।  गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसी –रुस रहेका छन् ।  सदस्य सचिवमा डा चिरन्जिवी  खड्का –चेक रिपब्लिका, सदस्यमा जीवन केसी –पोल्याण्ड, हरि बहादुर मल्ल –युक्रेन, शिव कुमार भुर्तेल –रुस, जयप्रसाद शिवाकोटी –स्लोभाकिया, नवराज पोखरेल –रोमानिया, सुरेन्द्र श्रेष्ठ –हङगेरी, यदुराम पन्थी –चेक रिपब्लिका, मिलन पन्त –जर्मनी, र प्रेस संयोजकमा चिरन शर्मा –यूके चयन भएका छन् ।
द्वन्द्व  पीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको  छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दुतावासको सम्पर्कमा आएको बताए ।  उनले ती नेपालीको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थासँग समन्वय गरिरहेको जानकारी दिए । गैरआवासीय नेपाली संघ –एनआरएनए, का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेक छन् ।
अप्ठ्यारो पर्दा एनआरएनएले नेपालीलाई  आपत पर्दा  जहाँ पनि सहयोग गर्छ कसैले  अभिभावकविहीन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ, अध्यक्ष पन्तले  भने । युक्रेनमा रहेका नेपाली सहयोग गर्न हामी प्रतिबद्ध छौँ,उनले भने ।  गैरआवासीय नेपाली संघ –एनआरएनए० का उपाध्यक्ष डा बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताए । उनले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारी दिए । संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा केसीलाई एनआरएनएले युक्रेनको लागि समन्वयको जिम्मेवारी  दिइएको छ । रुसका लागि कार्यवाहक नेपाली राजदूत सुशील घिमिरेले रुसमा बस्ने नेपालीको अवस्था सामान्य रहेको जानकारी दिए ।  उनले युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि  दूतावास आवश्यक  सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी  गराएका थिए